काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले लोकतान्त्रिक गणतन्त्र स्थापनामा दृष्टि साप्ताहिकको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।
दृष्टि साप्ताहिक ४१औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् । देशको राजनीतिक स्वतन्त्रता, गणतन्त्र प्राप्ति, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्र अन्त्यको लागि महत्वपूर्ण भूमिका खेलेको दृष्टि अहिले सभ्य र समृद्धि समाज निर्माणमा जुटिरहेको उनले बताएका छन् ।

उ ‘देशको राजनीतिक स्वतन्त्रताको निम्ति, गणतन्त्र प्राप्तिका निम्ति, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्र अन्त्यका निम्ति दृष्टि साप्ताहिकले महत्वपूर्ण भूमिका खेलेको थियो । आज सभ्य र समृद्धि समाज निर्माणमा जुटिरहेको छ,’ उनले भनेका छन्, ‘ हिजोको दिनमा असाध्यै ठूलो भूमिका खेलेको दृष्टिले भोलिका दिनमा पनि लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रताको निष्ठालाई जोगाउने कुरामा दृष्टि साप्ताहिकले अहम् भूमिका खेल्न सकोस् ।’
पञ्चायत कालमा तत्कालीन शासकविरुद्ध दृष्टि डटेर लडेको पनि उनले स्मरण गरेका छन् । पार्टीमाथि प्रतिबन्ध लागेको समयमा पनि दृष्टिले जनतालाई सूचित गर्ने र मार्क्सवादी चेतना निर्माण गर्न नरोकेको उनले बताएका छन् ।
उनले भनेका छन्- ,‘वामपन्थी विचार बोकेर प्रकाशित हुँदै आएको दृष्टि साप्ताहिकका पत्रकारहरूले पञ्चायत कालिन अवस्थामा समाचार लेखेकै भरमा जेल नेल भोग्नु परेको थियो । तत्कालीन राज्य व्यवस्थाका प्रहरीले पत्रिकाको कार्यालयमा धर्ना र पहरा दिने गर्थे । पार्टीमाथि प्रतिबन्ध लागेको समयमा पनि दृष्टि साप्ताहिकले जनतालाई सूचित गर्ने र मार्क्सवादी चेतना निर्माण गर्ने कार्यलाई रोकेको थिएन । त्यस्तो अवस्थाबाट समाजवादी आन्दोलनको नयाँ बिहानीसम्म आफ्नो निष्ठा कायम राख्न सफल भएको छ ।’
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउनुमा दृष्टिको अदितिय भूमिका रहेको बताएका छन् । दृष्टि नेपाली कम्युनिष्ट आन्दोलन र लोकतन्त्रिक आन्दोलनका निम्ति अगुवा संस्था भएको उनको भनाइ छ ।
दृष्टि आज (मंगलबार)देखि ४१औं वर्षमा प्रवेश गरेको छ ।














