
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुनेछ ।
पार्टीले यही मङ्सिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ ।
त्यस्तै युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको बारेमा समेत छलफल हुने एक नेताले बताए ।
मंसिर ७ गते युवा संघका इन्चार्जसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुँदै छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको प्रतिवादमा एमालेले प्रदर्शन गर्न लागेको हो ।














