
काठमाडौं । सिराहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा ३ जना युवकको मृत्यु भएको छ । हुलाकी राजमार्गमा दुई मोटरसाइकल आपसमा ठाक्किएर भएको दुर्घटनामा परि एक जना सख्त घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्याउँदा तीनै जनालाई चिकित्सकले मृत्यु घोषणा गरेको डीएसपी पाण्डेले बताए । मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ । प्रहरीका अनुसार दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् ।














