Logo
Logo

प्रहरी नेतृत्वमा एकता, संगठनलाई बलियो बनाउने घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ फागुन ।
सधैं गुटबन्दीले आक्रान्त नेपाल प्रहरीमा यसपटक फर दृश्य देखिएको छ । उच्च प्रहरी अधिकारीले मिलेर अघि बढ्ने घोषणा गरेका छन् ।
महानिरीक्षक बढुवामा हुने प्रतिस्पर्धाका कारण प्रहरी नेतृत्वमा सधैँ बेमेल हुनेमा यसपटक भने फरक अवस्था देखिएको हो । प्रतिस्पर्धीहरूले समेत एकजुट भएर अघि बढ्ने र प्रहरीलाई बलियो बनाउने प्रण गरेका छन् ।


ठाकुर ज्ञवालीसँगै उनका ब्याची तारिणी लम्साल र सूर्यप्रसाद उपाध्यायसमेत आइजिपी बढुवाको प्रतिस्पर्धामा थिए । ज्ञवाली आइजिपी भएपछि बधाई दिँदै उनीहरूले आफूहरूको पूर्ण सहयोग रहने बताएका छन् । ‘महानिरीक्षक बढुवामा मेरो समर्थन छ, महानिरीक्षकलाई पूर्ण सहयोग हुनेछ,’ डिआइजी लम्सालले भने, ‘व्यक्तिगत स्वार्थभन्दा पनि प्रहरी संगठनलाई बलियो बनाउन हामी एकजुट हुनेछौँ ।’ आफ्ना ब्याचमा ज्ञवाली पहिलो नम्बरमा थिए । मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई आइजिपीमा बढुवा गरेको थियो । बढुवा पछि लम्सालले घरमै गएर ज्ञवालीलाई बधाई दिएका थिए । मुख्यालयमा स्वागत कार्यक्रममा पनि उनी ज्ञवाली सँगसँगै थिए ।
उता गृहमन्त्री रामबहादुर थापाले आफ्ना सहयोगीलाई साथ लिएर अघि बढ्न प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सुझाब दिएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा थापाले कार्यकाल छोटो भए पनि धेरै गर्न सकिने भन्दै आफ्नो पूर्ण साथ रहने बताए । यसैबीच, ज्ञवालीले संगठनमा भातृत्वको भावना बढाएर अघि बढ्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहका बीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनमा उनले संगठनले लिएको लक्ष्यप्रति विमुख नभई अगाडि बढ्नुपर्ने बताए । प्रहरी नेतृत्वमा एकता भएमा राजनीतिक हस्तक्षेप कम हुने र प्रहरी बलियो हुँदै जाने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्