Logo
Logo

नेपाल र एसियाली विकास बैंकबीच १३ अर्ब ३३ करोड रुपैयाँको ऋण सम्झौता



काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

आज शुक्रवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भने, ‘सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ ।’

एडीबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताए ।

उनले भने, ‘सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ ।’

प्रतिक्रिया दिनुहोस्