Logo
Logo

सेनामा नक्कली प्रमाणपत्रको लफडा, बाँकी दुई उपरथी उस्तै मुद्दामा तानिँदै


9.8k
Shares

अशोकराज सिग्देललाई उपरथी दर्जाको दज्यांनी चिन्ह प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।

काठमाडौं । नेपाली सेना प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि नौ महिनापछि सकिँदै छ । सँगै, आगामी प्रधानसेनापतिको खोजी सुरु भएको छ । 

भावी प्रधानसेनापतिको खोजी सुरु भएसँगै लाइनमा रहेकाहरू नक्कली शिक्षक प्रमाणपत्रको लफडामा एक–एक गर्दै फस्न थालेका छन् । 

उपरथी ताराध्वज पाण्डेलाई भावी प्रधानसेनापतिको लाइनमा राखेर सेनाले रथीमा बढुवा सिफारिस गरेको थियो । तर, नक्कली कागजातमा मुछिएपछि पाण्डेले राजीनामा दिइसकेका छन् । सरकारले उनको राजीनामा स्वीकृत पनि गरिसकेको छ ।

पाण्डेले राजीनामा दिएपछि अर्का उपरति अशोकराज सिग्देल प्रधानसेनापति बन्ने लाइन खुलेको थियो । तर, सिग्देल पनि नक्कली प्रमाणपत्रकै कारण प्रधानसेनापतिको लाइनबाट बाहिरिने सम्भावना बढेको छ । 

नेपाली सेनाले सिग्देललाई रथीमा बढुवा सिफारिस गर्दै भावी प्रधानसेनापतिको लाइनमा अघि सार्ने तयारी गरेकै बेला उनी विरुद्ध पनि छानबिनका लागि अख्तियार दुरुपयोगमा अनुसन्धान आयोगमा उजुरी परेको छ ।

रथी बढुवाको लाइनमा रहेका उपरथी सिग्देलको शैक्षिक प्रमाण पत्र र नागरिकताको उमेर फरक परेको भन्दै अनुसन्धानका लागि अख्तियारमा उजुरी परेको हो । सिग्देलविरुद्ध मंसिर ४ गते उजुरी परेको हो । यस अघि, अख्तियारमै उजुरी परेपछि पाण्डेले राजीनामा दिएका थिए ।

सिग्देलपछि रथी बढुवा हुँदै प्रधानसेनापति बन्ने रोल क्रममा रहेका दुई उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने सैनिक स्रोतले बताएको छ । तर, उनीहरूको नाम भने खुलाइएको छैन । पाण्डे, सिग्देल हुँदै बाँकी दुई उपरथी पनि नक्कली प्रमाणपत्रका कारण जागिरबाट बाहिरिने अवस्था आए नेपाली सेनालाई भावी नेतृत्व चुन्न निक्कै सकस पर्ने देखिन्छ ।

नेपालका तीन सुरक्षा अङ्गमध्ये नेतृत्व चयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अधिक राजनीतिक हस्तक्षेप हुने गरेको छ । नेपाली सेनामा भने अहिलेसम्म नेतृत्व चयनमा सैनिक कमान्डर नै सफल हुँदै आएका थिए । तर, यस पटक भने एकपछि अर्को गर्दै नक्कली प्रमाणपत्रको प्रकरणहरू बाहिरिन थालेपछि सेनामा पनि राजनीति हाबी हुने सम्भावना बढेको छ ।v

प्रतिक्रिया दिनुहोस्