Logo
Logo

दोलखा सुन तस्करी प्रकरणः २७ जनाविरुद्ध मुद्दा दायर, ३१ करोड बिगो दाबी


1.2k
Shares

काठमाडौं । दोलखाबाट भएको सुन तस्करी प्रकरणमा २७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका १५ र फरार १२ अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

दुई महिना लामो अनुसन्धानपछि पाँचवटा कसुरमा सजाय दाबी गरी मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले गिरोहको ३३ किलो सुन तस्करी गरेको भन्दै सोहीअनुसार ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ बिगो दाबी गरेको छ ।

त्यस्तै, दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटीबराबरको क्रिप्टो कारोबार गरेको नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि सजाय माग गरिएको छ ।

भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, बालबालिकासम्बन्धी ऐन तथा अपराधसंहिताको एकीकृत कसुरअनुसार सजाय माग गरी मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनकै आधारमा मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता अर्जुन कोइरालाले बताए ।

चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको र त्यसको भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरीले जनाएको छ । यसरी सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न महिमा माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्