
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले दायर गरेको रिटमा आज पनि सुनुवाइ जारी छ ।
काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा गत सातादेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । जसमा निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
आज (मंगलबार) पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका कानुन व्यवसायीले बहस गर्दैछन् । त्यसअघि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले सोमबार बहस सक्काएका थिए ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका तथा अन्य देश पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर ठगी प्रकरणमा रायमाझी प्रतिवादी छन् । गत असार १ गते काठमाडौं जिल्ला अदालतले थुनछेक आदेश सुनाउँदै रायमाझीसहितका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको लगायतका अभियोग छन् । उक्त ठगी प्रकरणमा अनुसन्धान सुरु भएपछि फरार भएका रायमाझीलाई प्रहरीले गत वैशाख ३१ गते काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो ।
ठगी प्रकरणका अभियुक्तमध्ये २२ जनाले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए । हालसम्म १८ जनाको बहस सकिएको उच्च अदालत पाटनले जनाएको छ ।
२२ जनाकै पक्षबाट बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् । सरकारी पक्षबाट बहस सकिएपछि निवेदक (२२ जना प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहसपछि मात्र इजलासले प्रतिवादीहरुलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय सुनाउने छ ।














