Logo
Logo

चिसोबाट जाजरकोटमा १७ जना भूकम्पपीडितको मृत्यु


441
Shares

काठमाडौं । भूकम्पपछि जाजरकोटमा चिसोबाट १७ जना पीडितको मृत्यु भएको छ । तीमध्ये अधिकांश वृद्धवृद्धा रहेको र धेरैजसोको कालगतिले मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्याङ्कानुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । बयालीस जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए ।

पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने छ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपाङ्गता भएका व्यक्तिसहित नौ हजार तीन सय ८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् ।

कुशे गाउँपालिकामा २५ हजार आठ सय १५ जनसङ्ख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने पाँच सय १५ जना गर्भवती, दुई सय ३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, दुई सय ७७ दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्