Logo
Logo

नेपाली सेनामा ‘किर्ते’हरूको बिगबिगी, अन्तर्राष्ट्रियस्तरमै बदनाम हुँदै


8k
Shares

काठमाडौं । राष्ट्रको प्रतिष्ठाको रूपमा हेरिने मुख्य सुरक्षा अंग नेपाली सेनाका अधिकृतहरूको हर्कतका कारण अन्तर्राष्ट्रिय स्तरमै नेपाली सेना बदनाम हुने अवस्थामा पुगेको छ ।

पछिल्लो समय नेपाली सेनामा एकपछि अर्को गर्दै नक्कली शैक्षिक प्रमारणपत्र तथा नक्कली नागरिकता प्रकरण बाहिरिन थालेसँगै नेपाली सेनाको अन्तर्राष्ट्रिय छविमै प्रश्न उठ्न थालेको छ ।

शान्ति सेनामा विश्वमै उत्कृष्ट छवि बनाएको नेपाली सेना आफ्नै अधिकृतहरूका कारण बदनाम हुँदै गएको हो । भावी प्रधानसेनापतिका रूपमा अघि सारिएका अधिकृतहरू एकपछि अर्को गर्दै नक्कली प्रमाणपत्र प्रकरणमा पर्न थालेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा ९ महिनापछि नियमित अवकाशमा जाँदै छन् । शर्मा अवकाश हुने समय आएसँगै सेनाले भावी प्रधानसेनापति छान्ने प्रक्रिया अघि बढाएको छ ।

भावी प्रधानसेनापतिको रूपमा सैनिक मुख्यालयले उपरथी तारध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेको थियो । तर, उनी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । 

उजुरीमाथि छानबिन हुने भएपछि प्रधानसेनापतिको लाइन छोडेर पाण्डेले राजीनामा दिएर सैनिक सेवाबाटै बिदा लिएका छन् । उनले सेनाबाट राजीनामा दिए पनि उनीमाथि लागेको आरोपमाथि भने अख्तियारले अनुसन्धान अघि बढ्छ ।

भावी प्रधानसेनापतिको रूपमा अघि सारिएका उपरथी पाण्डेको बर्हिगमनपछि सेनाले अर्का उपरथी अशोकराज सिग्देललाई अघि सारेको छ । उपरथी सिग्देल रथी बढुवामा सिफारिस भएसँगै उनीविरुद्ध पनि नागरिकताको जन्म मिति फरक–फरक रहेको अभियोगमा अख्तियारमै उजुरी परेको छ । अख्तियारमा उजुरी परेसँगै सिग्देल पनि प्रधानसेनापतिको लाइनबाट बाहिरिने सम्भावना बढेको छ ।

नक्की प्रमाणपत्र प्रकरण पाण्डे र सिग्देलमै रोकिने अवस्था रहेन । रथी बढुवा वरियतामा पाण्डे र सिग्देलपछिको वरियतामा रहेका अर्का उपरथी निर्मलकुमार थापा पनि उस्तै मुद्दामा मुछिएका छन् ।

पाण्डे र सिग्देल प्रधानसेनापति नभएको खण्डमा प्रधानसेनापति बन्ने लाइनमा रहेका थापाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको छ । 

पूर्वसैनिक अधिकृतहरूको नाममा दर्ता भएको उजुरीमा थापाको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै छानबिन गर्न माग गरिएको छ ।

प्रधानसेनापतिको लाइनमा रहेका तीनै उपरथीमाथि नक्कली प्रमाणपत्रको चर्चा लागेसँगै नेपाली सेनामा खैलाबैला मच्चिएको छ । अब कसलाई प्रधानसेनापति बनाउने भन्ने विषयले सैनिक नेतृत्वलाई तनाव भएको छ । स्रोतका अनुसार अर्का एक उच्च अधिकारी पनि नक्कली शैक्षिक प्रमाणपत्रकै कारण जागिरबाट हात धुने अवस्थामा रहेका छन् । 

यसरी, सेनाका उच्च अधिकारीहरू नै नक्कली र किर्ते कागजात मुद्दामा फस्न थालेपछि सिंगो सैनिक संगठनमाथि नै प्रश्न उठ्न थालेको छ । सेनाका अधिकारीहरूको यस्तो हर्कतले अन्तर्राष्ट्रिय स्तरमै नेपाली सेनाको बदनाम हुने चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्