Logo
Logo

रास्वपा ‘संघीयता र धर्मनिरपेक्षता’को विपक्षमा


3.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक लाइन स्पष्ट पारेको छ । अर्थात्, मूल प्रवाहमा समाहित हुँदै गणतन्त्रमार्फत समाजवादसम्म पुग्ने बाटोमा अघि बढेको छ ।

महोत्तरीको जलेश्वरमा तीन दिनदेखि जारी केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले राजनीतिक प्रतिवेदनको प्रस्तावना पारित गरेको छ । जुन प्रस्तावनामा गणतन्त्र हुँदै समाजवादसम्म पुग्ने उल्लेख छ ।

प्रस्तावनामार्फत गणतन्त्रात्मक शासन व्यवस्था स्वीकार गर्दै समाजवादको यात्रामा अघि बढेको रास्वपा संघीयता र धर्मनिरपेक्षतामा भने स्पष्ट हुन सकेन ।

रास्वपा पहिलो पटक आमनिर्वाचनमा सहभागी हुँदा प्रदेश संरचनामा असन्तुष्ट थियो । र, संघमा उम्मेदवारी दिए पनि प्रदेशमा उम्मेदवारी नै दिएन । यस आधारमा हेर्दा रास्वपालाई संघीयता स्वीकार्य नरहेको बुझिन्छ ।

राजनीतिक प्रतिवेदनको प्रस्तावनामा रास्वपाले गणतन्त्र स्वीकार गर्दै समाजवादसम्म पुग्ने उल्लेख गरे पनि संघीय वा संघीयता शब्द नै उल्लेख गरेको छैन । गणतन्त्रको महत्त्वपूर्ण पाटोको रूपमा रहेको संघीयताबारे रास्वपाको मौनताले प्रश्न उब्जाएको छ । 

रास्वपाले प्रस्तावना पारित गरेसँगै संघीयताबारे रास्वपाको नीतिमा दुई कोणबाट बहस सुरु भएको छ । ‘संविधान स्वीकार गर्दै गणतन्त्रमार्फत समाजवादसम्म पुग्ने लक्ष्य लिनु नै संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्नु हो’ भन्ने एक पक्षको मत छ भने ‘प्रस्तावनामा संघीयताबारे मौन रहनु संघीयता अस्वीकार गर्नु हो’ भन्ने अर्थ लाग्ने अर्क पक्षको मत रहेको छ ।

धर्मनिरपेक्षता कि हिन्दु राष्ट्र ?

बहसको विषय बन्दै आएको र संविधानले अङ्गीकार गरेको ‘धर्मनिरपेक्षता’मा पनि रास्वपा स्पष्ट देखिएन । प्रस्तावनाको आधारमा कतिपयले रास्वपा धर्मसापेक्षताको बाटोमा अघि बढेको टिप्पणी गरेका छन् ।

रास्वपाले प्रस्तावनामा धर्मबारे स्पष्ट उल्लेख नगरे पनि घुमाउरो भाषामा धर्मनिरपेक्षता र सापेक्षता दुबैलाई मिश्रण गर्न खोजेको देखिन्छ । यसबारे रास्वपाले भनेको छ– ‘नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान….’ उल्लेख गरेको छ ।

प्रस्तावनामा उल्लखे ‘सनातन सभ्यता’मा धर्म पनि समावेश हुन्छ । नेपालमा हिन्दु धर्मलाई सनातन धर्मको रूपमा बुझिन्छ । यसरी हेर्दा, रास्वपाले सनातन धर्म अर्थात् हिन्दु धर्मलाई अङ्गालेको बुझ्न सकिने विश्लेषण हुन थालेको छ ।

तर, सँगै उल्लेख गरिएको ‘धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान…’ विषयले भने सबै धर्म र संस्कृतिमा सहअस्तित्वका सम्मान व्यक्त गर्ने अर्थ पनि लाग्दछ । यसरी, रास्वपाले आफ्नो धार्मिक धारण पनि स्पष्ट पार्न सकेको छैन ।

पारित प्रस्तावना पढ्नुहोस्–

प्रतिक्रिया दिनुहोस्