Logo
Logo

 आजपाले भ्रष्टाचारीलाई जनकारवाही गर्ने     


756
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)ले विभिन्न  सङ्घर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले जनतासँग जोडिएका मुद्दाबारेमा संघर्ष गर्ने निष्कर्ष निकालेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरूबाट मत फिर्ता अभियान सञ्चालन हुने बताए । 

यसैगरी बिदेशी नागरिकता लिएकाहरूको सम्पत्ति कब्जा गरि राज्यलाई बुझाउने, भ्रष्ट्राचार नियन्त्रण गर्न राज्य असफल रहेकोले निष्कर्ष निकाल्दै आजपाले त्यस्ता भ्रष्टाचारीलाई जनकारवाही गर्ने निर्णय गरेको  छ ।

यस्तै जनसरोकारका मुद्दाहरूमा पार्टीका जनसङ्गठनलाई सङ्घर्षका कार्यक्रम अगाडि बढाउन बैठकले जिम्मेवारी तोकेको छ । 

आजपा प्रवक्ता साहका अनुसार भन्सारको विषयमा आम सम्पर्क मन्च, वैदेशिक रोजगार पीडितको विषयमा आईटी आर्मी, बैंकिङ लुट तथा कर्जाको विषयमा आम किसान मोर्चा, आवासको विषयमा आम दलित मोर्चा, मदर्सा शिक्षाको विषयमा आम मुस्लिम मोर्चा र यातायातको भाडा सहुलियतको विषयमा आम विद्यार्थी मोर्चाले सङ्घर्षका बिभिन्न कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ । 

देशमा विद्यमान जटिल परिस्थिति एवं सङ्कटको निकासको लागि वर्तमान व्यवस्थाको खारेजी तथा अन्तरिम सरकारको गठन गर्नुपर्ने निष्कर्ष बैठकको छ । बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह अहिलेको सरकारलाई विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका थिए । अहिलेको व्यवस्था असफल भइसकेको बताउँदै उनले अन्तरिम सरकारको गठन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने निष्कर्ष साहको रहेको छ । 

‘देशलाई सही निकास दिनका लागि यो व्यवस्थाको खारेजी र अन्तरिम सरकार गठन नै हो । यो नहुँदा सम्म देशमा अस्थिरता र अन्योल कायमै रहन्छ’ आजपा अध्यक्ष साहले भने, ‘त्यसैले राजनीतिक अन्योलता र अस्थिरता हटाउनका लागि हामीले जतिछिटो यो व्यवस्थाको खारेजी र अन्तरिम सरकार गठन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था नै त्यसको निकास हो ।’ 

दलीयतन्त्र, तीन दलका तीन राजाको मनोमानीले राजनीतिक अस्थिरता, देश अहिले असफलताको बाटोमा गएको बताउँदै उनले आर्थिक समृद्धि र देशलाई सफलतातर्फ लैजानका लागि यो व्यवस्था खारेजीको विकल्प नभएको ठोकुवा उनले गरे । 

बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको पार्टीका महासचिव उपेन्द्र साहले जानकारी दिए । लिम्बूवान किरातमा रामप्रित राम, मधेश प्रदेशमा सुधीर यादव, ताम्सालिङ नेवामा अरुण घिसिङ, तमुवान गण्डकमा तिलक थापा, लुम्बिनीमा समिना हुसेन, कर्णालीमा तिलक थापा मगर र  सुदूर पश्चिम प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङलाई प्रदेशको इन्चार्ज तोकिएको छ । 

यसैगरी बैठकले प्रवासका देशहरूमा सम्पर्क र संगठन विस्तारका लागि समेत जिम्मेवारी तोकेको छ । अष्ट्रेलिया र न्युजिल्याण्डका लागि तिलक थापा मगर, अमेरिका र क्यानाडाका लागि ज्ञानेन्द्र कुमार तामाङ, दक्षिण कोरियाका लागि चन्द्रभुषण साह, मलेसियाका लागि उमेश कुशाहालाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

 यसैगरी भारतका लागि बाबुराम कौशिकलाई इन्चार्ज र विजय यादवलाई सहइन्चार्ज, साउदी, कतार र दुबईका लागि लालबाबु मन्सुरीलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । 

यसैगरी बैठकले १४ पुसमा पार्टीको स्थापना दिवस भव्यरूपमा मनाउँने निर्णय समेत गरेको छ । पार्टीको भ्रातृसंगठन आईटी आर्मीको राष्ट्रिय भेला गर्ने निर्णय समेत बैठकले गरेको छ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोले पार्टीका उपाध्यक्ष रहेका पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेलाई निर्दोष साबित नहुँदासम्मको लागी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्