Logo
Logo

गणेशमान सिंहको स्मृतिमा ‘बक्सिङ प्रतियोगिता’ हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ फागुन । गणेशमान सिंह फाउन्डेसनले अर्को महिना ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ गर्ने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा चैत १८ देखि २२ गतेसम्म प्रतियोगिता आयोजना गर्ने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगिता काठमाडौंको बसन्तपुर डबलीमा हुनेछ । जसमा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौलसमूहमा प्रतिस्पर्धा हुने बताइएको छ । यस्तै, पुरुष्तर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरिनेछ ।
प्रदेश १ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ भने प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुने जनाइएको छ ।
यस्तै, प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुने जनाइएको छ ।
प्रितियोगिताअन्तर्गत हरेक तौलसमूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्