Logo
Logo

प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको विदेश भ्रमण मोह



काठमाडौं । अहिले प्रधानमन्त्री पुुष्पकमल ‘दाहाल’ प्रचण्डदेखि राष्ट्रिय सभाका अध्यक्ष र कर्मचारीहरुको विदेश भ्रमण मोह बढेको छ ।

सरकारले बनाएको कार्यविधि लत्याउँदै निजामती कर्मचारी विदेश भ्रमणमा सहभागी हुन थालेका छन् भने प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८)मा भाग लिन दुबई गएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया पुुगेका छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल अस्ट्रेलिया गएको हो ।

यसैगरी सहरी विकास मन्त्रालयका सहसचिव तथा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ तथा मन्त्रालयका सहसचिव विनु बज्राचार्य एक हप्ता लामो जापान भ्रमण पूरा गरेर गत हप्ता मात्र स्वदेश फर्किएका थिए । स्मार्ट सिटीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भाग लिन उनीहरू जापान पुगेका थिए ।

यो कार्यक्रमको सबै खर्च नेपाल सरकारले नै व्यहोरेको थियो । आगामी फागुनमा ५८ वर्षीय उमेर हदको कारण श्रेष्ठ अनिवार्य अवकाशमा जाँदैछन् ।

कार्यविधिअनुसार अवकाश पाउनै लागेको कर्मचारीले सामान्यता विदेश भ्रमण गर्न पाउँदैनन । अवकाश पाउन लागेका कर्मचारीको विदेश भ्रमण राज्यका लागि अनुत्पादक खर्च हो । यस नियमलाई मन्त्रालयका अन्य उच्च कर्मचारीहरूले पनि बारम्बार उल्लंघन गर्ने गरेका छन् ।

तत्कालीन सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ पनि अवकाशको एक साताअघि मात्र असोजमा सरकारी खर्चबाट विदेश भ्रमणमा गएका थिए । उनी सहरी विकासमन्त्री सीता गुरुङको नेतृत्वमा नेदरल्याण्ड, जर्मनी, फ्रान्स लगायतका देशमा भ्रमण गर्न गएका थिए ।

भ्रमणमा मन्त्रालयका सहसचिव दिलीप भण्डारी, नगर विकास कोषका कृष्णप्रसाद सापकोटालगायतका कर्मचारी पनि सहभागी थिए । त्यस भ्रमणको करिब एक महिनापछि सहरी विकासमन्त्री सीता गुरुङको नेतृत्वमा अर्को टोलीले यही कात्तिक महिनाको पहिलो साता मलेसिया भ्रमण गरेको थियो ।

टोलीमा मन्त्रालयका अर्का सहसचिव पदम मैनालीलगायतका कर्मचारी सहभागी भएका थिए । एक महिनाबीचमा मैनालीले दोस्रो पटक विदेश भ्रमण गरेका छन् । तिहारको संघारमा उनी इन्डोनेसियासम्म पुगेका थिए ।

दसैंको संघारमा मन्त्रालयका अर्का सहसचिव तथा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सदस्यसचिव चक्रवर्ती कण्ठ युरोप भ्रमणमा गएका थिए ।

यही हप्ता मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर चन्द्र शेखर महतोको नेतृत्वमा कर्मचारीहरूको अर्को एउटा टोली चीन भ्रमणमा जाने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि यस्तै अवस्था छ । मन्त्रालयका उच्च कर्मचारीहरू धेरैजसो विदेश भ्रमणमै व्यस्त हुने गरेका छन् । मन्त्रालयका सहसचिव सुमन दाहाल अमेरिका भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्