
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमा समावेशितालाई व्यवहारमा लागू गर्न नसकेको स्वीकार गरेका छन् ।
महोत्तरीको जलेश्वरमा बसेको संयुक्त बैठकमा पारित राजनीतिक प्रतिवेदनमा उनले पार्टीको केन्द्रदेखि वडासम्मको संरचनामा खस–आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएको र समावेशितालाई व्यवहारमा लागू गर्न नसकेको स्वीकार गरेका हुन् ।
साथै उनले समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु आफुहरुको ठूलो कमजोरी भएको भन्दै यसलाई यसलाई यथाशीघ्र सुधार गर्न आग्रह गरेका छन् ।
‘केन्द्रदेखि वडासम्मको संरचनामा हाम्रो पार्टीमा खस–आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएकोछ । समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो,’ उनले भनेका छन्, ‘यसलाई यथाशीघ्र सुधार गर्न म सबैमा आग्रह गर्द्छु । जानेर वा नजानेर समावेशितालाई उपेक्षा गर्ने कार्यले लोकतन्त्रको उपहास गर्दछ । आगामी दिनमा यस्तो कमजोरी नहुने प्रतिबद्धता म सबै साथीहरूबाट पनि चाहन्छु ।’
साथै उनले आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा मधेश प्रदेशलाई राखेका छन् । त्यसैगरि लैंगिक, जातीय, वर्गीय र क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेद अन्त्य गर्न पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् ।
साथै उनले शून्य सहनशीलताको नीति लागु गर्ने भन्दै पार्टीका कुनै पनि तह र तप्कामा रहेका कुनै पनि सदस्यबाट विभेदयुक्त व्यवहार गरे त्यो स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।














