Logo
Logo

अब शहर कुरुप हुँदैन, चिटिक्कको बन्छ : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


तस्बिर :रासस

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब शहर कुरुप नहुने बताएका छन् । काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजनाको सोमबार महाराजगञ्जबाट शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीस्ले विद्युत टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आमजनतालाई पनि सहज हुने र सेवा पनि सरलरुपमा प्राप्त गर्न सकिने बताए ।
पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबाट विकासको नयाँ अध्याय शुरु भएको समेत बताए ।
प्रधानमन्त्रीले भने, ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो ।
सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उनले केही मान्छेलाई भने पीर परेको बताए । ‘सरकारले धेरै राम्रा काम गरिरहेपनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?’
उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भएपनि एकाधस्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए । दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै उनले त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे ।
प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए । एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन ५ सय मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५ सय मेगावाट थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्