Logo
Logo

चार उच्च अदालतमा आजदेखि श्रव्य दृश्यमार्फत सुनुवाइ सुरु



काठमाडौं । उच्च अदालतका चारवटा इजलासमा आजदेखि श्रव्य दृश्यमार्फत सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज सर्वोच्च अदालतबाट श्रव्य दृश्यमार्फत सुनुवाइ कार्यक्रमको उद्घाटन गरेका हुन् ।

उच्च अदालत जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासबाट श्रव्य दृश्यमार्फत मुद्दाको सुनुवाइ थालिएको हो । यसअघि दिपायल र इलाम उच्च अदालतबाट मुद्दामा श्रव्य, दृश्यमार्फत बहस सुरु गरिएको थियो ।

अबदेखि सम्बन्धित कानुन व्यवसायीले आफ्नै ठाउँमा बसेर ती चार उच्च अदालतका इजलासमा मुद्दाको बहस गर्न सक्नेछन् ।निश्चित मुद्दामा सम्बन्धित मुद्दाका सरोकारवालाले पासवर्ड र आइडी पाउनेछन् । त्यसपछि जुममार्फत कानुन व्यवसायीले बहस पैरवी गर्न सक्नेछन् ।

सर्वोच्च अदालतले पत्रकार सम्मेलन गरी आजदेखि मुद्दाका सरोकारवालाले अनलाइनमै हेर्न र सुन्न मिल्नेगरी मुद्दाको सुनुवाइ थालिएको जानकारी गराएको हो ।

तोकिएका चारवटा इजलासमा अबदेखि भिडियो कन्फेरेन्स मार्फत कानुन व्यवसायीको बहस पैरवी मुद्दाका वादी, प्रतिवादीले प्रत्यक्ष रूपमा हेर्न मिल्नेछ ।

सर्वोच्च अदालतबाट अनुमति लिइसकेपछि देशभरका कानुन व्यवसायीले सर्वोच्च अदालतमा पनि अनलाइन मार्फत बहस गर्न पाउने व्यवस्था थालिएको छ । कोभिडको समयदेखि नै सर्वोच्च अदालतमा श्रव्य, दृश्यमार्फत बहस पैरवी थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्