Logo
Logo

सिडिओ र सहायक सिडिओको लडाइँले सेवाग्राहीलाई सास्ती



सिडिओ पण्डित र सहायक सिडिओ सुनुवार

काठमाडौं । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीबिचको लडाइँका कारण सेवाग्राहीले सास्ती खेप्दै आएका छन् ।

हाल ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा अमर दीप सुनुवार कार्यरत छन् । पण्डित र सुनुवारबिच सुरुदेखि नै मतभेद रहँदै आएको छ ।

सिडिओ पण्डितले सहायक सिडिओ सुनुवारले गरेका कामको अपनत्व ग्रहण नगर्ने र सहायक सिडिओ सुनुवारले सिडिओको आदेश पालना नगर्ने जस्ता समस्या देखिँदै आएका छन् ।

सहायक सिडिओले नागरिकता लगायत जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने अत्यावश्यक सेवाहरूमा सबै प्रक्रिया पूरा गरेर सदर गरेका फाइलहरूमै सिडिओले प्रतिशोधकै आधारमा प्रश्न उठाउने गरेका छन् । सबै प्रक्रिया मिलेपछि सहायक सिडिओले सदर गरेर अघि बढाएको फाइलहरू नै सिडिओले सदर नगरेपछि सेवाग्राहीले अनावश्यक सास्ती खेप्दै आएका छन् ।

सिडिओ र सहायक सिडिओको लडाइँको प्रभाव सेवाग्राहीमा मात्रै परेको छैन । कार्यालयका अन्य कर्मचारीसमेत उनीहरूको लडाइँको मारमा परेका छन् । एक अधिकृत भन्छन्– ‘सिडिओ र सहायक सिडिओबिचको लडाइँका कारण हामीलाई नै काम गर्न असहज हुँदै आएको छ । हामीले गरेका कामहरू पनि उहाँहरूको लडाइँका कारण प्रभावित हुने गरेको छ ।’

सिडिओ र सहायक सिडिओको लडाइँको कारण त्यहीँ कार्यरत कर्मचारीले पनि पत्ता लगाउन सकेका छैनन् । तर, उनीहरूबिच अनैतिक कारोबारबाट सम्बन्धमा दरार आएको हुनसक्ने कर्मचारीकै अनुमान छ ।

सिडिओ पण्डित खासै राम्रो छवि बनाएका कर्मचारी होइनन् । विगतमा समेत कार्यसम्पादनका क्रममा पण्डितमाथि अनेक आरोपहरू लाग्ने लागेका थिए । पछिल्लो समय अनाहकै ललितपुरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै आलोचना भएको थियो ।

माओवादीको कर्मचारी संगठनमा आबद्ध सिडिओ पण्डित आफ्नो सरकार रहेको भन्दै अन्य पार्टीसँग आबद्ध कर्मचारीहरूलाई सरुवा गरिदिने जस्ता धम्कीको भाषासमेत प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्