Logo
Logo

महिलाले महिलालाई सहयोग नगर्दा पछाडि पर्‍यौँ : आरजु राणा


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताएका छन् ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा महिला नेतृत्वको अर्थपूर्ण सहभागिता’ विषयक गोष्ठीमा नेत्री राणाले कांग्रेस पदाधिकारीमा महिलाको सङ्ख्या न्यून रहेकाले यस विषयमा आगामी महासमिति बैठकमा कुरा उठाइने बताए ।

‘पार्टीको पदाधिकारीदेखि विभिन्न विभागमा कम्तीमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने हाम्रो विगतदेखिकै माग हो र यसबारे हामीले समय–समयमा आवाज पनि उठाउँदै आएका छौँ’, उनले भने ।

कांग्रेसका सांसद डा. राणाले महिलाका लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने भन्दै यसका लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए ।

राजनीतिक क्षेत्रमा रहेका महिलाबीच पनि एकापसमा सहकार्य र समन्वय हुनु जरुरी रहेको भन्दै उनले एक महिलाले अर्को महिलालाई सहयोग नगरेका कारण कतिपय महिला पछाडि परेको आफ्नो अनुभव रहेको सुनाए ।

उनले महिलाले आफ्ना अधिकारका विषयमा कुरा उठाउन छाड्नु नहुने बताउँदै अधिकारका लागि निरन्तर आवाज उठाएमात्रै परिवर्तन आउने उल्लेख गरे ।

राणाले मुलुक सङ्घीय शासन प्रणालीमा गएसँगै देशमा ठूलो परिवर्तन आएको पनि बताए । सङ्घीय लोकतान्त्रिक प्रणालीमा नै महिलाका हक र अधिकारको सुनुवाइ हुने भन्दै यसको संरक्षणमा महिला नै लाग्नुपर्नेमा उनको जोड छ ।

उनले अर्को एक प्रसङ्गमा महिलालाई आपत् पर्दा जाने ठाउँ निकै थोरै भएको पनि बताए । उनले भने, ‘महिला आयोगमा सबै महिलाको पहुँच पुग्दैन र जान पनि सक्दैनन् तर उनीहरु आपत् पर्दा कहाँ जाने ? यस विषयमा हामी सबै पार्टीका महिला नेत्रीहरूले पनि समन्वय र सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्