Logo
Logo

एमाले मुगु अधिवेशन: नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ संगठनको असन्तुष्टि


1.8k
Shares

काठमाडौं । नेकपा एमाले मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित जिल्ला कमिटी निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै एमालेसम्बद्ध १० वटा भ्रातृ सङ्गठनले असन्तुष्टि जनाएका छन् ।

यही मङ्सिर ९ गतेदेखि एमाले मुगुको जिल्ला अधिवेशन सुरु भए पनि सहमति हुन नसकेको भन्दै १४ गते राति अध्यक्षमण्डलले जिल्ला कमिटी घोषणा गरेको थियो । जसमा पूर्ण रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । उपाध्यक्षमा रत्नसिंह विष्ट, सचिवमा सुरेन्द्र मल्ल, उप–सचिवमा मदन बानियाँ र उप–सचिव समावेशीमा हैजली वि.क सर्वसम्मत चयन भएका छन् । ।

एमाले मुगुको नेतृत्व लिनका लागि तीन जना नेताले अध्यक्ष पदमा दाबी गरेका थिए । नवनिर्वाचित रोकायासँगै डम्बरबहादुर रावल र डिलबहादुर मल्लको अध्यक्ष पदमा दाबी थियो । तर, केन्द्रको दवाव भन्दै नयाँ नेतृत्व घोषणा भएपछि नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ संगठनले असन्तुष्टि जनाएका हुन् ।

घोषित जिल्ला कमिटी अलोकतान्त्रिक भएको र जिल्ला प्रतिनिधिलाई सहमतिका लागि छलफल गर्न नबोलाइएको १० वटा भातृ संगठनले आरोप लगाएका छन् ।

ती संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुमत जिल्ला प्रतिनिधिको समर्थन रहेका डम्बर रावललाई अध्यक्ष घोषणा गर्न र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर अध्यक्षमण्डलले घोषणा गरेको जिल्ला कमिटी खारेज गर्न नेकपा एमाले केन्द्रीय समितिसमक्ष माग गर्दछौँ ।’

नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घ, नेपाल खेलकुद महासङ्घ, मानवअधिकार एलाइन्स, उत्पीडित जातीय मोर्चा, राष्ट्रिय युवासङ्घ नेपाल, अखिल नेपाल किसान सङ्घ, प्रेस चौतारी, नेपाल बुद्धिजीवी परिषद् र र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्