
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । एयरलाइन्स डुबाउन लागेको भन्दै उनीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
अधिकारीमाथि त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको आरोप लागेको छ ।
केही दिन पहिलेमात्रै नेपाल उडड्यन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो । वर्षौंदेखि सञ्चालनमा नरेहको र व्यवस्थित गर्न नसकिएको ट्वीनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौं मूल्यका पार्टपूर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै कर्मचारीले ध्यानाकर्षण गराएका छन् ।
कार्यकारी प्रमुख अधिकारीलाई बर्खास्ती गर्नुपर्नाको ९ वटा कारण राखेर आफूहरूले आन्दोलन थालेको निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए ।














