Logo
Logo

यसकारण महासमिति बैठक चाहँदैनन् देउवा


2.1k
Shares

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसमा ‘पोजिसन होल्ड’ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । पार्टीको विचार, सिद्धान्त र कार्यक्रम होइन मनी तथा मसलका आधारमा कांग्रेसमा ‘पोजिसन होल्ड’ गर्ने प्रवृत्ति मौलाउँदै गएको हो ।

जसकारण कांग्रेस नीति, कार्यक्रम र लक्ष्यविहीन जस्तै बन्न पुगेको छ । त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन ।

कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको २ वर्ष पुगेको छ । तर, यस अवधिमा उसले एउटा पनि महासमिति बैठक गर्न सकेको छैन । कांग्रेको विधानअनुसार १४औं महाधिवेशनपछिको दुई वर्षमा महासमिति बैठक दुई पटक भइसक्नुप¥थ्यो ।

त्यतिबेला कांग्रेसले विधानको व्यवस्थाविपरीत नीति महाधिवेशन पछि गर्ने भन्दै महाधिवेशनबाट नेतृत्व मात्र चयन गरेको थियो ।
महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमितिबाट कांग्रेसले नयाँ नीति तथा कार्यक्रम तय गर्ने परम्परा छ ।

तर, उसले हालसम्म १ पटक पनि बैठक राख्न सकेको छैन । महासमिति बैठकका लागि तय भएको मिति समेत विभिन्न कारण देखाउँदै यसअघि २ पटक सारिसकेको छ ।

उसले पछिल्लो पटक पुस १६ गतेदेखि ललितपुरमा महासमिति बैठक गर्ने भनेको छ । तर तेस्रो पटक तोकिएको मितिमा पनि कांग्रेस महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताले नै आशंका गर्दै आएका छन् । त्यसका लागि पार्टीका पदाधिकारीले न्यूनतम तयारीसमेत नथालेकाले यस्तो आशंका उत्पन्न भएको हो ।

महासमिति बैठकमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन लेखनका लागि दुई महामन्त्रीलाई जिम्मेवारी दिइएको छ । कांग्रेसले दसैंअघि महाधिवेशनमा पेस गर्ने प्रस्तावबारे प्रारम्भिक छलफल गरे पनि त्यसपछि थप छलफल र तयारी गरेको देखिँदैन ।

महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा समेटिने विषयमा महामन्त्रीद्वय र सभापतिको धारणा नै फरक देखिएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा वर्तमान सत्ता गठबन्धनको विपक्षमा छन् । सभापति शेरबहादुर देउवा भने यसै गठबन्धनको पक्षमा छन् ।

महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमा अहिलेको गठबन्धनलाई हेर्ने पार्टी धारणा नै फरकफरक हुँदा प्रतिवेदन लेखन कार्य अघि बढ्न नसकेको स्रोत बताउँछ । यसैबीच देउवाले संविधानमा रहेको धर्मनिरपेक्षताविपरीत हिन्दु राज्यका पक्षमा धारणा बाहिर ल्याएका छन् ।

केही दिनअघि नवलपरासी पूर्वको जिल्ला सम्मेलनमा जानेक्रममा देउवाले भरतपुर विमानस्थलमा हिन्दु राज्य स्थापनाका विषयमा विभिन्न पक्षसँग बसेर सल्लाह गर्न सकिने बताएका थिए । देउवाको यो अभिव्यक्तिलाई लिएर कांग्रेस आफैं पक्ष र विपक्षमा विभाजित भएको छ । महासमिति बैठकमा यी विषय पनि उठ्ने भएकाले पार्टी एउटा निर्णयमा पुग्नुपर्ने हुन्छ । त्यसलाई टार्न पनि देउवाले महासमिति बैठक फेरि पनि सार्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने महासमिति बैठकका लागि तयारी भइरहेको दाबी गरे । ‘यतिबेलासम्म महासमिति बैठक सर्ने निर्णय नभएकाले अब सर्दैन,’ उनले भने, ‘दुई पटक सरेकाले फेरि पनि सर्छ होला भन्ने लाग्नु अस्वाभाविक होइन तर महासमिति हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्