
काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल छ । जसमा, बालबालिकाहरु ‘केपी बा हाइहाई, हरु सबै बाइबाइ’ भनिरहेको देख्न सकिन्छ ।
उक्त भिडियो अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा खिचिएको हो । आश्चर्य लाग्दो कुरा त के छ भने, एउटा प्रमुख राजनीतिक दलको कार्यक्रममा स्कुले बालबालिकाहरु प्रयोग भएका छन् ।
बालबालिकाहरु स्कुले पोसाकमै लाइनमा उभिएर केपी ओलीको पक्षमा नारा लगाइरहेका छन् । जबकी विद्यालयलाई सरकारले शान्ति क्षेत्र र राजनीतिक दलको कार्यक्रम निषेधित क्षेत्र घोषणा गरेको छ ।
अर्को आश्चर्य लाग्दो कुरा त के छ भने उक्त भिडियो नेकपा एमालेको पोलिटब्युरो सदस्य निरु पालले सामाजिक सञ्जालमा राखेका हुन् । स्मरण रहो्स– पाल अघिल्लो प्रतिनिधिसभामा महिला तथा सामाजिक मामिला समितिका सभापति थिए ।
पाँच वर्षसम्म समितिको सभापति हुँदा उनले बालबालिकाको हकहितका विषयमा धेरै पटक छलफल तथा बहस गरेका छन् । र निर्देशन पनि दिएका छन् ।
बालबालिकालाई कस्तो ठाउँमा प्रयोग गर्न हुने र कस्तो ठाउँमा गर्न नहुने भन्ने विषय उनलाई राम्रोसँग जानकारी हुनुपर्ने हो । तर आइतबार विद्यालय चलिरहेकै समय पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीले स्कुल पोशाकमै आएर ओलीको पक्षमा नाराबाजी गरे ।
राजनीतिक दलका कार्यक्रममा बालबालिका प्रयोग गर्न पाइन्न भन्नेमा पाल सचेत थिए । तर, उनले त्यो गलत हो, रोकौं भन्न सकेनन् । यद्यपी उनले उक्त भिडियो अहिले सामाजिक सञ्जालबाट हटाइसकेका छन् । उनले आफूले पहिले भिडियो पोष्ट गरे पनि पछि गलत जस्तो लागेर हटाएको बताए ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद–३ दफा २१ दलले गर्न नहुने कामको (त) मा राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख छ । तर दलहरुले चुनावी प्रचारप्रसारदेखि विभिन्न राजनीतिक कार्यक्रमहरुमा समेत बालबालिकाहरुको निर्वाध प्रयोग गरिरहेका हुन्छन् ।
यस विषयमा विद्यालयका प्राध्यानाध्यापक पहलसिंह नेपालीले देशको पूर्वप्रधानमन्त्री जस्तो व्यक्ति आफ्नो स्कुलको बाटो हुँदै आएपछि हार्दिकता बाँड्ने कार्यक्रम राखिएको बताए । यद्यपी उनले जुलुसमा विद्यार्थी सहभागी नभएको र बालबालिकाहरुले सडकको डिलमा उभिएर हेरेको दाबी गरे ।
उनले भने, ‘राजनीति रूपमा गरिएको होइन, पूर्वप्रधानमन्त्रीजस्तो व्यक्ति विद्यालय छेउबाटै गइराख्नु भएको थियो । छलफलबाटै स्वागत गर्ने भन्ने कुरा भयो । स्वागतकै क्रममा विद्यार्थीले नारबाजी गरेका हुन् ।’
एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थी सहभागी गराइएको भिडियो सार्वजनिक भएपछि अहिले एमालेको र्चातर्फी आलोचना भइरहेको छ ।














