काठमाडौं । रुकुम पश्चिमको सोती घटना प्रकरणमा जिल्ला अदालत रुकुममा प्रतिवादीतर्फको बहस सुरु भएको छ ।
आइतबार सरकारी वकिलहरूको बहसबाट सुनुवाइ सुरु भएको थियो । सरकारी वकिलहरूको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीहरू बहस गरिरहेका जिल्ला अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिए ।

मङ्गलबारसम्ममा प्रतिवादीतर्फका वकिलहरूको र जवाफी बहस बुधबारसम्ममा सकाएर बुधबारै फैसला हुन सक्ने सम्भावना रहेको अदालत प्रशासनले जनाएको छ ।
२०७७ साल जेठ १० मा चौरजहारी नगरपालिका ८ सोतीमा ६ जना युवाको हत्या भएको थियो । विवाहका लागि प्रेमिका लिन चौरजहारी पुगेका नवराज विक तथा उनका साथीहरूको समूहलाई स्थानीयले कुटपिट गरी सेति नदिमा बगाएको आरोपमा सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
मुद्दा चलाएको तीन वर्षपछि घटनाको अन्तिम फैसलाका लागि निरन्तर सुनुवाइ भइरहेको हो । ३२ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको छ ।














