चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताएका छन् ।
बाग्मती प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै मेयर दाहालले रङ्गशालाको अभ्यास मैदानमा नियमित खेल हुने बताए । नियमित खेल गतिविधि गर्न सङ्घ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने उनको भनाइ ।

क्रिकेट रङ्गशालाको पहिलो चरणको निर्माणका लागि ७० प्रतिशत बाग्मती प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले बेहोर्ने सहमति भएको छ । पहिलो चरणमा ७५ करोड रुपैयाँको काम हुने जनाइएको छ ।
‘क्रिकेट रंगशाला बन्नेमा दुई मत छैन’, मेयर दाहालले भने, ‘केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदै छ । एक महिनाभित्र निर्माण शुरु गर्ने गरी टेन्डरको काम हुँदैछ ।’
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ ९क्यान० का केन्द्रीय सचिव एवम् बाग्मती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतमबुद्ध क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै गएको बताए । अध्यक्ष खड्काले क्रिकेट खेलको विकासका लागि मेयर दाहालले अग्रसरता लिएकोमा प्रशंसा गरे ।
यसैबीच प्रधानमन्त्री कपका लागि भएको बाग्मती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ । ललितपुरलाई ४ विकेटले हराउँदै काठमाण्डौ क्रिकेट सङ्घले उपाधि जितेको हो ।














