
काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे छलफल गर्ने भएको छ । छलफलका लागि आज बैठक दिउँसो २ बजे बैठक बोलाइएको छ ।
एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।
एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो ।
यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत चासो देखाएका छन् । यसै विषयमा छलफल गर्न उनले मंगलबार साँझ बालुवाटारमा सत्ता गठबन्धनसहितको बैठक राखेका थिए ।
गठबन्धनका शीर्ष नेता, सरकारका मन्त्री तथा सरोकारवाला निकायका कर्मचारीसमेत सहभागी बैठकले एनसेलको शेयर खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।














