Logo
Logo

यो हो ८० किलोको खुकुरी !


- दृष्टि न्युज/संवाददाता


पर्वत, ७ फागुन । पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी बनाएका छन् । तीन महिना लगाएर उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो ।
८० किलोको कुखुरीको अग्लाइ साढे १० फिटको छ । गत मंसिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी दिए । सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा पदर्शनीमा राखिएको छ ।
उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन् । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिएकी छन् ।
महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । ‘तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ’ सुनारले भने ।
उनका अनुसार खुकुरी निर्माणमा रु दुई लाख खर्च भएको छ । सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी संग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्