Logo
Logo

टिम बनाउँदै महानिरीक्षक ज्ञवाली, बढुवाको तयारी सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ फागुन ।
ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक भएको एक साता भएको छ । एक साता भेटघाटमै बितेको छ । अब टिम बनाएर संगठनलाई गति दिने तयारी उनले गरेका छन् ।
टिम बनाउने क्रममा एसपी भूपेन्द्र खत्रीलाई सचिवालयमा ल्याएका छन् । खत्री उपेन्द्रकान्त अर्यालको कार्यकालमा पनि सचिवालयमा हर्ताकर्ता थिए । त्यस्तै निवासमा डिएसपी देवेन्द्र पाण्डेलाई ल्याएका छन् । सचिवालयका पुराना अधिकृतहरुलाई हटाएका छैनन् । सचिवालयका एसपी रमेश थापा र ज्ञवालीको सम्बन्ध राम्रो छ । थापा अमेरिका तालिममा जाने तयारी गरेका छन् ।


रमाइलो के भने निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालको पेलाइमा परेका प्रहरी अधिकृतहरु अहिलेका महानिरीक्षकको प्रिय बनेका छन् । एसपी खत्रीलाई बढुवादेखि सरुवासम्म खनालले अन्याय गरेका थिए । उनी अफताब आलमलाई पक्राउ गरेर हिरो बने । पछि क्रेडिट लिन होडबाजी चल्यो ।
त्यस्तै डिएसपी देवेन्द्र पाण्डेलाई बढुवामा पछि पार्ने मात्र होइन तीन महिनामा खनालले तीन पटक सरुवा गरेका थिए । कर्मचारी प्रशासनका एसपी पनि फेरिएका छन् । जनार्दन जिसीलाई कप्रमा सरुवा गरिएको छ । कप्रका चन्द्रकुबेर खापुङ हटाइएका छन् ।
त्यसो त खनाल र ज्ञवालीको कार्यशैली पनि फरक छ । त्यहीअनुसार आफ्ना सहयोगी पनि फरक हुने नै भए । खनाल एग्रेसिभ पुलिसिङ रुचाउँथे भने ज्ञवाली कुटनीतिक शैली अपनाउँछन् । खनालको कार्यकालमा सचिवालयमा रहेका केही बदनाम प्रहरीहरु भने हटाइएका छन् ।
त्यस्तै महानिरीक्षक ज्ञवालीले बढुवाको तयारी समेत थालेका छन् । एआईजी लगायत उच्च पदहरु रिक्त हुँदा संगठनमा समस्या भएको भन्दै उनले छिटो बढुवा सुरु गर्न गृहमन्त्री तथा प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । तर, पनि एआईजी बढुवा तत्काल हुने देखिएको छैन । तीन सिटका लागि सात एआईजीको प्रतिस्पर्धा भएकाले समस्या हुने देखिएको हो ।
त्यस्तै डिआईजीको पनि दर्जनौं उच्च पद रिक्त हुँदा प्रहरी अस्तव्यस्त छ । पाँच वटा प्रदेशमा डिआईजी नै छैनन् । प्रहरीका केन्द्रीय विभागहरु समेत एसएसपीको कमाण्डमा चलेका छन् ।

प्रतिक्रिया दिनुहोस्