Logo
Logo

दुर्गा प्रसाइँको आन्दोलनले बैंकहरु ऋण लगानी गर्न हच्चिए : गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुर्गा प्रसाईँले २० लाख रुपैयाँसम्मको ऋण मिनाह गर्ने अभियानका कारण बैंकहरु ऋण लगानी गर्ने अवस्थाबाट हच्चिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्र्तगत अर्थ समिति बैठकमा गभर्नर अधिकारीले पछिल्लो समय बैंकहरुमा कर्जाको माग कमी हुनुमा प्रसाईकाे २० लाखसम्मको ऋण मिनाह गराइदिने भन्ने आन्दोलन कारण रहेको बताएका हुन् ।

निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी रहेको बताउँदै गभर्नर अधिकारीले भने, ‘तैपनि बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको छ ।’

बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको उनको भनाइ छ । गर्भनर अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको बताए । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको उनको भनाइ छ ।

गभर्नर अधिकरीले तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकाले कर्जा प्रवाह थप बढ्ने आँकलन रहेको बताए । उनले मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको बताए । गत वर्ष टेजरी बिलको भारित ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको र ९१ दिने टेजरी विलको भारित औसत ब्याजदर थप घटेर २.६२ प्रतिशत रहेको उनले बताए ।

गत वर्षको तुलनामा अल्पकालीन ब्याजदर घट्दै गएको बताउँदै उनले बैंकहरुको अन्तर ब्याजदर पनि घटेर १ प्रतिशतको हाराहारीमा रहेको बताए । उनले बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको बताए ।

उनले चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरेको बताए । चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरु भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने उनको भनाइ छ ।

उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको पनि उनले बताए । गभर्नर अधिकारीले देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९÷०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको जानकारी दिए ।

उनले लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले र व्यापार घाटा ३.३ प्रतिशतले घटेको बताउँदै २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेकाले चालु खाता ५९ अर्ब रुपैयाँले वचतमा रहेको जानकारी दिए ।

उनले राष्ट्र बैंकले वाह्य क्षेत्रको स्थायीत्व, बैंक तथा वित्तीय क्षेत्रमा स्थिरता कायम गर्ने र बजार मूल्य स्थिर राख्ने काममा होसियार पूर्वक काम गरिरहेको बताउँदै भने, ‘यी तीन विषयमा स्थायित्व दिनेसकेमात्रै समग्र अर्थतन्त्रमा स्थायित्व कामय हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्