काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् । घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रिस्तरीय सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी पूरा गर्ने क्रममा रहेकोसमेत बताए ।
उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकामा धन्यवादसमेत दिए । उनले संयुक्त राष्ट्रसंघका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको बताए । यसले शान्ति सैनिकको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ ।

‘हामीले हाम्रा सैनिकलाई जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौँ । हामी सुनिश्चित गर्छौं कि हाम्रा शान्ति सैनिकले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन् र हामी यौन शोषण र दुव्र्यवहारविरुद्ध शून्यसहिष्णुता नीतिलाई दृढतापूर्वक पालन गर्छौं’, उपप्रधानमन्त्री खड्काले भने ।
नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी÷पिसिसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाबीच सुधारिएको समन्वय संयन्त्र धेरै महत्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए । उनले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे ।
उपप्रधानमन्त्री खड्काले नेपाल यसवर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुई वटा इफपियु र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धतासमेत जनाए । उनले नेपाल इओडी इहाइ, एकल इकाइ, रेकी इकाइ, क्यूआरएफ कम्पनी र एमपी कम्पनीलाई समेत स्तरोन्नति गर्न प्रतिबद्धता जनाए ।
‘हामी हाम्रो वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यसका प्रशिक्षकलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति स्थापना तालिम सञ्चालन गर्न तत्पर छौँ । नेपालले आइटिएस, डिपिओलाई युएनएममओ कोर्सका लागि सिमुलेशन सफ्टवेयर प्रदान गर्दै आएको छ’, उनले भने ।
त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले नेपालले संयुक्त राष्ट्रसङ्घका महासचिवको लैङ्गिक समानता रणनीतिको लक्ष्य पूरा गर्न महिलालाई अपरेसनल भूमिकामा परिचालन गर्दै अर्थपूर्ण सहभागिता बढाउन कार्यलाई निरन्तरता उल्लेख गरे ।
‘हामी शान्ति स्थापना मिसनमा वातावरणीय पदचिह्न कम गर्न नवीकरणीय ऊर्जाको प्रयोग र प्रवद्र्धन गर्न प्रतिबद्ध छौँ । हामी युएनएमआइएसएस र हाम्रो तालिम केन्द्रमा साझेदारीमा नवीकरणीय ऊर्जा प्रयोग गर्दैछौँ’ उनले भने, ‘यो लक्ष्य पूरा गर्न द्विपक्षीय र बहुपक्षीय साझेदारीको खोजीमा छौँ ।’ नेपाल संयुक्त राष्ट्रसङ्घको संरक्षणमा विश्वशान्तिका लागि आफ्नो दृढ प्रतिबद्ध रहेकोसमेत उनको भनाइ छ ।
नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपालले शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा छ सय १६ महिलासहित छ हजार दुई सय ७८ शान्ति सैनिक तैनाथी गरी दोस्रो ठूलो शान्ति सेना र प्रहरी खटाउने देशका रुपमा रहेको छ ।
शान्ति स्थापनाका क्रममा हालसम्म ८६ शान्ति सैनिकले शान्ति स्थापनाका लागि आफ्नो प्राण त्याग गरेका छन् भने ६६ जना घाइते भएका छन् । मङ्गलबार भएको सम्मेलनको उद्घाटनमा घानाका उपराष्ट्रपति महमुदु बहुमियाले विश्वशान्ति, स्थिरता र सुरक्षाका लागि सबै देशबीच सहकार्य हुनुपर्नेमा जोड दिए । ‘पिस बिगन्स विथ मि’ भन्ने नाराका साथ मङ्गलबारदेखि सुरु भएको सम्मेलनमा करिब ९० देशका प्रतिनिधिमण्डलको सहभागिता थियो ।














