
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन नसकिएको बताएका छन् । बिहीबार काठमाडौंमा रेस्पोन्सेबल विजनेश समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार गर्न अझै मिहिनेत आवश्यक रहेको बताएका हुन् ।
‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ’, उनले भने, ‘त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषण गर्ने तयारी गरिरहेको छु । त्यसमा यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवम् तत्परता रहने विश्वास लिएको छ ।’
साथै उनले र्थतन्त्रको क्षेत्रमा देखिएको दबाबलाई चिर्दै देशभित्र लगानीको वातावरण बनाउने प्रयास अझै जारी रहेको पनि बताए ।
‘यहाँहरु सबैलाई अवगत नै छ, अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु’, उनले भने, ‘केही दिन पहिला मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठक गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु । अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणासमेत गरिएको छ। मेरो विश्वास छ, उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’














