काठमाडौं । पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदुत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशविरुद्ध ११ वटा उजुरी परेको छ ।
संसदीय सुनुवाई समितिको बिहीवार बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदुत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति पशुपति समशेर राणाले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुलाई सो उजुरी र प्रस्तावित राजदुत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको कार्ययोजना अध्ययनका लागि वितरण गरिएको छ ।
पोर्चुगलका लागि प्रश्तावित राजदुत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरुको उजुरी र कार्ययोजना अध्ययनका लागि समितिका सदस्यलाई वितरण गरिएको सभापति राणाले बताए ।
संसदीय सुनुवाई समितिले गत मंसिर ९ गते बसेको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदुत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुत र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।














