Logo
Logo

भ्रष्टाचारको आरोपमा दुई पूर्व डिएसपी पक्राउ, डिआईजी पनि छानबिनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन ।
आर्थिक अनियमितता आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त दुई नायब उपरीक्षक(डिएसपी) पक्राउ परेका छन् । हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका त्रिलोक चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो ।

लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोपमा आयोगले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । तत्कालीन लेखापाल वीरेन्द्र चन्द्रलाई पनि आयोगले नियन्त्रणमा लिएको छ । ०७० र ०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो । जिल्लामा कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि हिरासतमै लिएर आयोगले छानबिन अघि बढाएको हो । अनियमिततामा संलग्न तत्कालीन लेखापाल सइ चन्दलाई प्रहरीले सेवाबाट पहिले नै बर्खास्त गरिसकेको थियो ।

अनियमिततामा दुई डिएसपीकै मिलेमतो भएपछि प्रहरी नेतृत्वबाट भएको छानबिनमा उनीहरूलाई जोगाइएको थियो । अख्तियारमा उजुरी परेपछि प्रारम्भिक छानबिन गरी उनीहरू पक्राउ परेका हुन् । अनियमिततामा दुवै डिएसपीको मिलेमतो रहेको आयोगको दाबी छ । त्यतिवेला प्रहरीलाई व्यक्तिगत रूपमै तलब दिइने भएकाले यस्ता अनियमितता भएको हो । हाल बैंक खातामार्फत तलब र रासनभत्ता निकासा हुने गरेको छ ।

तालिम केन्द्रका लेखापाल पनि पक्राउ
बागमती प्रदेश तालिम केन्द्र, दुधौली (सिन्धुली)का पूर्वलेखापाल पनि अनियमितताको आरोपमा पक्राउ परेका छन् । तत्कालीन लेखापाल दीपेन्द्र पनेरूलाई आयोगले पक्राउ गरेर बयान अघि बढाएको छ । ०७२ को पुसमा दोहोरो तलब निकालेर अनियमितता गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको स्रोत बताउँछ । केन्द्रमा रहेका करिब दुई सय तालिमे प्रहरीको तलब अनियमितता भएको हो । छानबिन सुरु भएपछि पनेरूले राजीनामा दिएका थिए ।

देश संघीयतामा गएपछि हरेक प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने योजनाअनुसार तत्कालीन मध्य क्षेत्र तालिम केन्द्र भरतपुरलाई ०७२ मा सिन्धुली जिल्लामा सारिएको थियो । त्यतिवेला दुधौली र भरतपुरस्थित दुवै कार्यालयबाट तलब र रासनभत्ता निकालेर करिब ३२ लाख रुपैयाँ अनियमितता भएको थियो । त्यसवेला तालिम केन्द्रको समादेशकमा महेशविक्रम शाह थिए । डिआइजीबाट उनले गत महिना मात्र अवकाश पाएका हुन् । शाहमाथि समेत आयोगले सोधपुछ गरेको स्रोत बताउँछ ।

कुनै पनि प्रहरी कार्यालयमा आर्थिक खर्चमा कार्यालय प्रमुखको हस्ताक्षर हुने गर्छ । यो अनियमिततामा पनि शाहको हस्ताक्षर छ । यस्तो उजुरीउपर प्रहरी प्रधान कार्यालयले नै केही महिनाअघि प्रारम्भिक छानबिन गरेको थियो । जसमा अनियमितता देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरीमा नक्कली खर्च देखाएर अनियमितता गर्ने प्रवृत्ति व्यापक रहेको स्रोत बताउँछ । सोही कारण लेखापालको सरुवामा ठूलो चलखेल हुने गरेको छ ।

‘जिल्ला प्रमुख र लेखापालको सरुवामा उत्तिकै ठूलो दबाब आउँछ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘हिसाब मिलाएर बजेटमा ठूलो अनियमितता हुने गरेको छ ।’ कार्यालयका सञ्चालन तथा अपराध अनुसन्धानका लागि आएको बजेटसमेत खर्च भएको देखाएर अनियमितता गर्ने प्रवृत्ति छ । यस्तै, अनियमितताबाट कतिपय लेखापालले अकुत सम्पत्तिसमेत आर्जन गरेका छन् । प्रहरीले आन्तरिक रूपमा गरेका छानबिनमा समेत पटक–पटक लेखापाल कारबाहीमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्