महोत्तरी । महोत्तरीको मनराशिसवा नगरपालिकाले विपन्न परिवारका सदस्यको विवाह गरिदिने भएको छ । नगरपालिकाले पुस १ गते विवाह पञ्चमीको अवसर पारेर विपन्न परिवारका सदस्यको विवाह गरिदिने जनाएको हो ।
नगरपालिकाको ११औं नगरसभाबाट कार्यक्रम स्वीकृत गरी विपन्न परिवारका सदस्यको विवाह गरिदिन लागेको जनाएको छ । विवाहमा दुलहा–दुलहीका लागि लुगा–कपडादेखि सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्ने बजानएको छ ।

‘पुष १ गते विवाह पञ्चमी पर्वको अवसरमा यस नगरपालिकाद्वारा विपन्न परिवारको लागि सामूहिक विवाह कार्यक्रम आयोजना गरिएको छ,’ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ। विवाह गर्न इच्छुक अभिभावकलाई मंसिर २५ गतेभित्र वडा कार्यालय अथवा नगरपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गर्न आह्वान गरिएको छ ।
इच्छुक जोडीलाई वैदिक परम्परा तथा विधि–विधानअनुसार विवाह गरिदिने नगरपालिकाले जनाएको छ । नगर प्रमुख मोहन पाण्डेयका अनुसार विवाह कार्यक्रममा बेहुला, बेहुलीको तर्फबाट बढीमा १५–१५ जनामात्र सहभागी हुनुपर्ने छ ।














