Logo
Logo

कमिसन एजेन्टको एम्बुसमा मन्त्रि बाँस्कोटा, को हुन् एजेन्ट मिश्र ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा कमिसन एजेन्टको एम्बुसमा परेका छन् । सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टले उनलाई कमिसनको अफर गरेर फसाएका छन् ।
स्वीस कम्पनीका एजेन्ट विजय मिश्रले उनलाई एम्बुसमा पारेका हुन् । यससम्बन्धि कुराकानी गरेर कमिसनको समेत आफैं प्रस्ताव गरी त्यसको रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । आफ्नो कम्पनीले ठेक्का नपाउने भएपछि मिश्रले अडियो सार्वजनिक गरेका हुन् । अडियो सार्वजनिक गरिदिने भन्दै उनले मन्त्री बाँस्कोटालाई एक महिनादेखि ब्लाकमेल गर्दै आएका थिए ।


जापानबाट फर्किएका लमजुङका मिश्र स्वीसका विभिन्न कम्पनीसँग नेपाली एजेन्टका रुपमा प्रस्तुत हुँदै आएका छन् । केही समय अगाडि उनी नेपालीहरुलाई जापान पठाउने काम गर्थे ।
मिश्रले मन्त्री बाँस्कोटासँग भेटेरै कमिसनको प्रस्ताव गरेका हन् । हाल सार्वजनिक अडियो करिब तीन महिना पहिलेको हो । हाल लेखा समितिले त्यसउपर छानबिन गरिरहेकाले सरकारले खरिद प्रक्रिया रोकेको छ ।
स्रोतका अनुसार, अडियो सार्वजनिक हुँदै गरेको सूचना प्रधानमन्त्री कार्यालयमा हप्ता दिन अगाडि नै पुगेको थियो । तर, मिश्रले कमिशनको प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको मन्त्री बाँस्कोटाले जवाफ दिएका थिए ।

राहदानी प्रमाणपत्र, अन्तशुल्क स्टिकर, ब्यांकको चेक लगायत सामग्री छाप्न सरकारले पिन्टिङ प्रेस खरीद गर्ने गएको मंसीरमा निर्णय गरेको थियो । त्यसैका लागि सरकारले विदेशी कम्पनीसँग सम्झौता प्रक्रिया अगाडि बढाएको छ । शुरुमा बोलपत्र आह्वान गरिए पनि पछि जीटुजी (सरकार–सरकार बीच) काम गर्ने सरकारले निर्णय गरेको थियो । यसमा विभिन्न एजेन्टहरुले चलखेल गर्दै आएका छन् । हचुवाको भरमा जथाभावी बोल्दा मन्त्री बाँस्कोटा समेत एम्बुसमा परेका छन् ।

आरोप प्रमाणित भए सजाय भोग्न तयार छुः मन्त्री बाँस्कोटा
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं फर्किएपछि विस्तृत प्रतिकृया दिने बताएका छन् ।
बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले काठमाडौं फर्किएपछि सार्वजनिक भएको अडियोबारे विस्तृत प्रतिक्रिया दिने बताएका हुन् । सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।

मन्त्री बाँस्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । उनले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रारम्भिक प्रतिक्रिया दिए । ‘जसले गल्ती गर्छ, त्यही जान्छ’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’
मन्त्री आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडौं फर्किने कार्यक्रम छ । उनी बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न यहाँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्