Logo
Logo

शिवरात्रिमा ट्राफिक व्यवस्थापन, वैकल्पिक सडक प्रयोग गर्न डाइभर्सन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन । महाशिरात्रि पर्वलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन मिलाएको छ । शुक्रबार परेको महाशिवरात्रिमा पुशपतिनाथ मन्दिरमा आउने दर्शनार्थीको आवागमनमा सरल र सहज बनाउन ट्राफिक व्यवस्थापन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जनाए ।
पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुई पांग्रे र साना सवारीसाधनको लागि तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालो पुल हुँदै आउने गाडीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनलाई देव उद्यानस्थित कोषको कार्यालय पार्किङको व्यवस्था मिलाइएको छ ।
यस्तै पासबाहक गाडी, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला तथा वाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको छ ।
शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरुपमा आवागमनको व्यवस्था मिलाउन पाँच सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ । महाशाखाले यातायात सेवा प्रभावित हुने देखिएमा गौशाला क्षेत्र भई चल्ने सवारी साधनलाई केही समयको लागि वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरी आवागमनको व्यवस्था मिलाइने जनाएको छ ।
तिलगंगा, गौशाला, मित्रपार्क र चावहिल भई चल्ने मालबाहक सवारी साधनलाई तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्