Logo
Logo

वर्षायाममा प्राधिकरणले बेच्यो १५ अर्ब बढिको बिजुली


693
Shares

काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो ।

प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि २० मङ्सिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ ।

सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युतको अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए ।

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा एक अर्ब ७८ करोड ५३ लाख, साउनमा दुई अर्ब १४ करोड ७६ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाख बराबरको विद्युत् निर्यात गरेको छ । यसैगरी, असोजमा चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख विद्युत् निर्यात गरी आर्जन भएको छ ।

प्रतिक्रिया दिनुहोस्