काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई राम्रोसँग बुझ्न सकेमात्र बिभिन्न टिकाटिप्पणीको प्रतिकार गर्न सहज हुने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा आइतबार कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण गर्दै सभापति देउवाले अहिले कांग्रेसप्रति बिभिन्न टिकाटिप्पणीका साथै आक्रमण र आलोचना हुन थालेकाले पार्टीलाई राम्रोसँग बुझ्नसकेमात्र त्यसको प्रतिकार गर्न सकिने बताएका हुन् ।

कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुमा मुखपत्रहरुको भुमिका महत्वपूर्ण रहेको उनले बताए । सभापति देउवाले पार्टीलाई ग्रासरुटमा पुराएर समर्थन पैदा गर्ने अवस्था सिर्जना गर्नुपर्ने जिकिर गरे ।
त्यस्तै, कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकमा सुशासनको खडेरी परेको भन्दै अवको मिसन सुशासन हुनुपर्ने जिकिर गरे । उनले अहिले रोइलो गरेर मात्रै केही नहुने भन्दै पार्टी सुध्रिन जरुरी रहेको बताए ।
त्यस्तै, कांग्रेसका महामन्त्री गगन थापाले अहिले नागरिकहरु कुशासनले आजित भएको र एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आउने गरेको जिकिर गरे । कांग्रेस सरकारमा भएका बेला भइरहेको कुशासनका घटनालाई उजागर गर्नुपर्ने उनले बताए ।
त्यस्तै कांग्रेस नेता डा मिनेन्द्र रिजालले अहिले जनताले सुशासनको चाहना गरिरहेको अवस्था कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।














