Logo
Logo

कांग्रेसको नेतृत्व हत्याउने आरजु रणनीति



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकातिर सत्ता गठबन्धन जोगाउने, अर्कोतिर पार्टीभित्रको आलोचना थेग्नुपर्ने दोहोरो चपेटामा छन् । पार्टीभित्र सत्ता गठबन्धन र पार्टीमा नेतृत्वले गरिरहेको कार्यको चर्को आलोचना भइरहेकाले त्यसलाई मथ्थर पार्न गाह्रो परिरहेको छ ।

पार्टीभित्रको इतर समूह र आफ्नै समूहका नेताहरूसमेतले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस माओवादीको पिछलग्गु भयो, आफ्नो अडान नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राख्न सकेनन् भन्दै आलोचना गरिरहेका छन् ।

देउवाको तजविजीमा सरकारमा पार्टीबाट नेतृत्व गरेर गएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, अर्थमन्त्री डा.प्रकाशशरण महत र परराष्ट्रमन्त्री एनपी साउदको कार्यशैलीमा गठबन्धन दलका नेताले त आलोचना गर्ने नै भए, पार्टीभित्र पनि चर्को आलोचना भइरहेको छ ।

देउवा स्वयंले पार्टी विधानअनुरुप केन्द्रीय समिति, भ्रातृ संस्था, शुभेच्छुक संस्थालाई पूर्णता नदिएको, तदर्थ समिति बनाएकामा एकलौटी रूपमा अघि बढिरहेको भन्दै आलोचना भइरहेको छ ।

आफ्नो निर्णय कार्यान्वयन गर्न नसक्ने भएमा गठबन्धनबाट बाहिरिनु पर्ने इतरका नेता डा. शेखर कोइराला र कतिपय संस्थापनका नेताहरूले नै दबाब दिइरहेका छन् । प्रधानमन्त्रीले सहमतिमा काम गर्न तयार भएमा पनि पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू परिवर्तन गर्नुपर्ने आवाज चर्को रुपमा उठेकाले पनि देउवालाई गाह्रो भइरहेको छ । देउवाले आफ्ना विश्वासपात्रहरूलाई मन्त्रीबाट फिर्ता बोलाउन चाहेका छैनन् ।

आलोचना विस्फोट हुने डरले सभापति देउवा महासमिति बैठक तेस्रो पटक सार्ने तयारीमा लागेका छन् । बैठक सार्नेमा पार्टीबाट नेतृत्व गरेर गए पनि कुनै काम गर्न नसकेको भन्दै चर्को आलोचना खेपिरहेका उपसभापति खड्काले साथ दिइरहेका छन् । पार्टीभित्र सबैभन्दा धेरै आलोचित खड्का बनिरहेका छन् ।

आरजुले महामन्त्री र उपसभापतिमा पनि महिला समावेश हुनुपर्ने भन्दै नेताहरूलाई दबाब दिइरहेकाले त्यो थेग्न पनि देउवालाई गाह्रो छ । महासमितिमा विधानलाई थप समावेशी बनाउन भन्दै नेत्रृहरूले महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी प्रस्ताव महासमिति बैठकमा लैजाने तयारी गरिरहेका छन् ।

देउवाले पुस १६ गतेदेखि ललितपुरको गोदावरीस्थित सभाहलमा गर्ने तय भएको बैठक सारेर फागुन मसान्तमा पु¥याउन जोडबल गरिरहेका छन् । केन्द्रीय समिति बैठकले कांग्रेसले मंसिरको १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो । त्यो समय सारेर कार्यसम्पादन समिति बैठकले मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने तय गरेको थियो । त्यो बेलामा पनि सम्भव नभएको भन्दै कात्तिक २१ गते पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने बताएका थिए ।

अहिलेको मिति सार्ने औपचारिक निर्णय २९ मंसिरमा बस्ने कार्यसम्पादन समितिले गर्ने तयारी छ । महासमिति बैठकका लागि देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति खड्काको नेतृत्वमा नीति निर्माण समिति, महामन्त्री गगन थापाको नेतृत्वमा सांगठानिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव समिति गठन गरिएको थियो । महामन्त्रीद्वयले आफ्नो काम सकेका छन् ।

तर, आफ्नो आलोचना थेग्न गाह्रो हुने भनेर सार्न जोडबल गरिरहेका उपसभापति खड्काले जिम्मेवारीअनुसारको प्रतिवेदन बिसञ्चो भएको भन्दै लेखेका छैनन् ।

महासमिति बैठकका लागि पार्टी कार्यालयले गोदावरीस्थित सभा हल दैनिक ५ लाख रुपैयाँ भाडा तिर्ने गरी बुकिङ गरेको थियो । महासमितिमा १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले १८१५ जना, केन्द्रीय सदस्यहरू, पूर्वकेन्द्रीय सदस्य, प्रवास, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबाट पनि महासमिति सदस्य आउने विधानको व्यवस्था भएकाले दुई हजार तीन सय जना हाराहारी महासमिति बैठकमा सहभागी हुन्छन् ।

०७८ मंसिरमा भएको महाधिवेशनमा कांग्रेसले नेतृत्व अधिवेशन मात्रै गरेर नीति अधिवेशन पछि गर्ने निर्णय गरेको थियो । पछि नीति अधिवेशन नगरेर महासमिति बैठक गर्ने सहमति बनेको थियो ।

कांग्रेसमा पदाधिकारीमा सहमहामन्त्रीमा मात्रै महिलालाई कोटा दिइएको भन्दै महिला नेतृहरूले अन्य पदमा पनि आरक्षण बढाउन दबाब दिइरहेका छन् । दबाब टोलीको नेतृत्व देउवा पत्नी आरजुले गरिरहेकी छन् ।

आरजुले महामन्त्री र उपसभापतिमा पनि महिला समावेश हुनुपर्ने भन्दै नेताहरूलाई दबाब दिइरहेकाले त्यो थेग्न पनि देउवालाई गाह्रो छ । महासमितिमा विधानलाई थप समावेशी बनाउन भन्दै नेत्रृहरूले महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी प्रस्ताव महासमिति बैठकमा लैजाने तयारी गरिरहेका छन् ।

१४ पदाधिकारीमध्ये कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाट चुनिएर आएका छन्। सभापति देउवाले केन्द्रीय सदस्य मध्येबाट कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म गरेका छैनन् ।

महासमिति सार्ने तयारी भएपछि नसार्न दबाब दिन नेता डा. शेखर कोइरालाले संस्थापनइतरका नेताहरुको बैठक मंगलबार दिउँसो बस्ने गरी बोलाएका छन् । बैठकमा आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरु, प्रदेश सभापतिलाई बोलाइएको छ । महामन्त्री गगन थापा पनि सहभागी हुने एक नेताले बताए ।

दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने पार्टी विधानको व्यवस्थाका कारण देउवा दुई वर्षपछि सभापति पदबाट बाहिरिँदा पत्नीलाई पार्टीमा स्थापित गराउने उद्देश्यले थप पद सिर्जनाका लागि गृहकार्य गरेपछि इतर समूहले त्यसलाई जसरी भए पनि रोक्न रणनीति बनाएकाले पनि कांग्रेसमा विवाद भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्