Logo
Logo

निलम्बित सांसद कोइरीविरूद्वको मुद्दा ‘हेर्दाहेर्दै’मा


252
Shares

काठमाडौं । प्रतिनिधिसभाका निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरूद्वको मुद्दा आज (मंगलबार) हेर्दाहेर्दैमा राखिएको छ । एमाले सांसद कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या गरेको आरोप लागेको छ ।

जिल्ला अदालत महोत्तरीमा न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा भएको सुनुवाई आज नसकिएपछि ‘हेर्दाहेर्दै’ मा रहेको हो । मुद्दाको निरन्तर सुनुवाइ बुधबार जारी रहनेछ ।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो ।

हत्यामा तत्कालीन मधेशवादी दलका नेता ९हाल एमालेका निलम्बित सांसद० लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो । त्यतिबेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो । असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए ।

उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार छन् ।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए । उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए ।

निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद भवन नयाँ बानेश्वरमा सपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि संसदका केही बैठकमा उपस्थित भए पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि फेरि फरार भएका हुन् ।

महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विकका पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्