Logo
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक भाेली


630
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक भोली (बिहीबार) देखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । बिहीबारदेखि द्द दिनसम्म चल्ने उक्त बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सचिवालय बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड पनि तय गर्ने खतिवडाले जनाएको छ । सङ्गठन निर्माणमा समर्पित पार्टीको वैचारिक दृष्टिकोणलाई जनतासम्म पुर्याउन सक्षम तथा अहिलेसम्म अवसर प्राप्त नगरेका नेतालाई प्राथमिकतामा राखेर बनाइने मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने उनले बताए ।

देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने उक्त बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ । पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने उपमहासचिव खतिवडाले जानकारी दिए ।

महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने सचिवालय बैठक आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारीबारे समीक्षा गरिने छ । उक्त बैठकले गर्ने निर्णयलाई स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ । बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्