
काठमाडौं । काठमाडौं महानगरपालिकाले २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ। २९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो।
यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम महानगरले गर्ने तयारी गरेको हो।
यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरूसँग सहकार्य अगाडि बढाइएको बताए।
काठमाडौँमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने उनको भनाइ छ। अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए।














