काभ्रेपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताएका छन् । उनले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को आज शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए ।

‘प्रमको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुआतको सन्देश दिनेछु, यसबाट नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत हुनेछ, हाइड्रोजन उत्पादनका लागि प्रचुर सम्भावना भएकाले अब क्लिन इनर्जी–ग्रीन इनर्जीलाई क्यास गर्नुपर्छ’, उनले भने ।
उनले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत गर्ने बताए ।
प्रम दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसकेकाले अब प्रम महिला होस् भन्ने चाहेको बताए । उनले भने, ‘अब मेरो इच्छा महिला प्रधानमन्त्री होस् भन्ने छ ।’
प्रम दाहालले उक्त पार्कका लागि सरकारले आवश्यक कार्यविधि बनाई र आवश्यक बजेट विनियोजन गर्ने बताए । ‘पार्कका लागि बहुवर्षीय कार्यविधि बनाएर सफल बनाउने दायित्व सबैको भएकाले आउने बजेट नीति तथा कार्यक्रममा नयाँ ढङ्गले लैजाने छौँ’, उनले भने ।














