
तेह्रथुम, ११ फागुन । यो तस्बिरमा देखिएको घर प्रधानमन्त्री केपी शर्मा ओलीको घर हो । जहाँ आज प्रधानमन्त्री ओलीले ६९औँ जन्मदिन बनाउँदैछन् ।
तेह्रथुम जिल्लाको साविक इवा गाविस–२ खानीगाउँ हाल आठराई गाउँपालिका–४ मा पर्छ । यहाँ पुग्न निर्धाणाधीन मध्यपहाडी राजमार्ग छोडेर उत्तर लागेपछि करिब आधा घण्टा पैदल हिँडेपछि यो घरमा पुगिन्छ । ओलीको यो घरमो छातेढुंगा (संक्रान्ति बजारबाट हिँडेर ३० मिनेटमा पुगिन्छ ।
२०४७ मा बेचिएको घरजग्गा किनबेच हुँदै पुन प्रधानमन्त्रीको आग्रह गरेपछि आफ्नो नाममा ल्याएका हुन् । ओली जन्मेहुर्केको यो घर २०७२ को भूकम्पमा चर्किएपछि मर्मत गरी राम्रो बनाइएको छ । दुईतले घरको माथि सिलिङ छ भने छानो खरको रहेको छ ।
त्यस्तै, छेउमा लामो सोतो परेको बाँसको टाटीले बेरेको खरकै छानो भएको ग्वाली (गाईबस्तु बाँध्ने घर) छ । छेउमा टिनको छानो भएको काठको शौचालय छ । ५० मिटर पर पराल राख्ने माच बनाइएको छ । ओलीले यो घरकै आँगनमा जोडेर बनाएको अलि ठूलो यस्तै खालको अर्को घर पनि किनेका छन् । दुवै घर र खेतबारीको रेखदेख र संरक्षणका लागि भुसाल थरको चारजनाको परिवारलाई जिम्मा दिइएको छ ।
घरको दाहिनेपट्टि लाछी बनाइएको छ । जसमा दाउरा, गाईबस्तुका भाँडाकुँडा, पराल, खोसेला आदि राखिएका छन् । त्यो घरमा कोही बसेका छैनन् । संरक्षण गर्नेहरु अर्को घरमा बसेका छन् । दुवै घरका बलेंसीमा विभिन्न फूल रोपिएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले जग्गा थपेर प्राविधिक कलेजलगायत तन्दुरुस्त संरचना बनाएर काम गर्ने इच्छा व्यक्त गरेपछि ‘ओली ट्रस्ट’ बनाएर काम अघि बढाइएको थियो । यहाँका सथनीय तुलसी संग्रौलाका अनुसार ३÷४ वटा ट्रस्ट बनाएर जग्गा कम्पनी ऐनमा दर्ता गरेर हालसम्म करिब पाँच सय रोपनी जग्गा प्राप्त ट्रष्टको नाममा ल्याइएको छ । यसअघि २५ रोपनी मात्र जग्गा थियो । जसमा तीन रोपनी सम्याइएर हेलिप्याड बनाइएको छ । उक्त हेलिप्याडमै आज प्रधानमन्त्री ओली हेलिकोप्टरबाट अवतरण गरेर आफ्नो घरमा जन्मदिन मनाउँदैछन् ।











