Logo
Logo

ओलीको जन्मघर इवामा एमाले टोलीको बास, शनिबार सर्वसाधारणसँग छलफल गर्ने


567
Shares

तेह्रथुम । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका समस्याबारे जानकारी लिने भएका छन् । बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने संकल्प यात्राका क्रममा बिहीबार साँझ गृहजिल्ला पुगेका ओली शनिबारसम्म गृहजिल्लामै रहने कार्यक्रम छ ।

दुईदिन तेह्रथुमका विभिन्न स्थानका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिसँग प्रत्यक्ष भेटघाट गर्दै जिल्लाका समस्या बुझ्ने कार्यक्रम जारी रहेकोे नेकपा एमालेको कोशी प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले बताए ।

म्याङलुङस्थित पार्टी कार्यालयमा शुक्रबार कार्यकर्तासँग भएको भेटमा जिल्लाका समस्याबारे अध्यक्ष ओलीले जानकारी लिएका थिए । सो क्रममा तेह्रथुम र पाँचथर जोड्ने लुबुघाटमा मोटर सञ्चालन हुने पुल १२ वर्षदेखि नबन्दा सर्वसाधारण मर्कामा परेकाले तत्काल पुल निर्माणको काम थाल्न ध्यानाकर्षणपत्र बुझाइएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै ओलीले देशको समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताउँदै प्रस्तुत विषयमा पार्टीभित्र गम्भीर छलफल गरी सरकारको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरे ।

कृषिको व्यावसायिकीकरण र वैज्ञानिकीकरण नगरेसम्म समृद्धिको सपना साकार नहुने बताउँदै अध्यक्ष ओलीले किसानका समस्या समाधान गर्न पार्टीले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे ।

संकल्प यात्राको १६औं दिनमा टाेली शुक्रबार साँझ अध्यक्ष ओलीको जन्मगाउँ तेह्रथुमको आठराई गाउँपालिका–४ इवा पुगेको छ । ओली नेतृत्वको टोली आज यहीँ बास बस्नेछ । बिहीबार तेह्रथुम छिरेको एमाले टोली शुक्रबार तेह्रथुमको विभिन्न ठाउँमा जनभेटघाट कार्यक्रम गरेर ओलीको जन्मघर पुगेको हो । भोलि शनिबार विहानदेखि नै ओली कार्यकर्ता तथा सर्वसाधारणसँग भेटमा व्यस्त हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्