
काठमाडौं । युक्रेनविरुद्धको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका कैलालीका भरत शाहको मृत्यु भएको छ । युक्रेनी सेनासँगको भिडन्तका क्रममा घाइते भएका टीकापुर नगरपालिका–१ का ३६ वर्षीय शाहको उपचार अभावमा गत नोभेम्बर २० मृत्यु भएको हो ।
भरतका कञ्चनपुरका साथी रोशन थापाले युद्ध स्थलबाट उपचार अभावमा भरतको मृत्यु भएको जानकारी परिवारलाई दिएका हुन् । कुसको शव बनाएर आइतबार हिन्दु परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ । उनका मृत्युबारे नेपालस्थित परराष्ट्र मन्त्रालय र रुसी सरकारले औपचारिक जानकारी भने परिवारलाई दिइसकेको छैन ।
टीकापुर नगरपालिका–१ दुर्गानगर स्थानीय बसोबास भएका उनी यसअघि दुबईको रोयल गार्डमा कार्यरत थिए । थापाले परिवारलाई दिएको जानकारी अनुसार शाहको मृत्यु गत नोभेम्बर २० तारिखमा भएको हो । यसबारे उनका साथी रोशनले शुक्रबार मात्रै परिवारलाई जानकारी दिएका हुन् ।
भिडन्तका क्रममा गोली लागेर घाइते शाहलाई समयमा अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको थापाले दिएका हुन् । दुबईको रोयल गार्डको जागिर छाडेर शाह तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए । उनी रुसी सेनामा भर्ना भएको जानकारी भने परिवारलाई पनि थियो ।














