
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक नरहेको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलनमा बोल्दै उनले एकल पहिचानको मुद्दा लिएर चुनाबमा जानेहरू नै कोशीको पक्षमा आएकाले पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको बताएका हुन् ।
‘कोशी प्रदेशमा पहिचानको नाममा एमाले केन्द्रीत विरोधको स्वर सुनियो । तर, उहाँहरुले एमालेसँग गुनासो गर्न आवश्यक छैन । नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भईजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन,’ उनले भने, ‘एमालेले जनतामा भनेको एजेन्डा नै लागू गरेको हो । जे भएको छ कोशीमा जायज छ ।’
साथै उनले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै जनताको तहमा त्यो खालको विरोध नसुनिएको र पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसावले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताए ।
पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भएपनि मिडियाले सही सूचना सम्प्रेसण नगरेको बताए । नेकपा एमालेको केहि दिनअघि सम्पन्न मध्यपहाडी संकल्प यात्राका क्रममा पहिचानवादीहरुले एमाले अध्यक्ष केपी शर्मा ओली, कोशी प्रदेशका पक्षमा मत राख्ने प्रदेश सांसदलगायतलाई प्रदेश १ मा छिर्नै नदिने भन्दै आन्दोलन गरेका थिए ।














