पोखरा । कांग्रेस सभापति शेरबहादुर देउवाले आउने चुनावमा एकल बहुमत ल्याउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार पोखरामा कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा सम्बोधन गर्ने क्रममा देउवाले आफूले पार्टीमा आकर्षण बढेको देखेको बताए ।

‘अब जसरी भए पनि पार्टीलाई एक गराएर, मेलमिलाप गराएर, आवश्यक एकता गराएर हाम्रो पार्टीलाई भरसक बहुमतको पार्टी बनाऔँ, नभए सबैभन्दा ठूलो पार्टी बनाउन अहिलेदेखि लागौँ । मलाई विश्वास छ, हामी सफल हुने छौँ,’ उनले भने, ‘अहिले देशभरि मैले ठूलो उत्साह देखेको छु । पार्टीका साथीहरूको ठूलो सहभागिता छ, आकर्षण बढेको छ ।’
कांग्रेसमा अर्कालाई हराउन लाग्ने, अन्तर्घात गर्ने रोग रहेको उनले बताए । यसको निर्मूल गर्ने र आउँदो चुनावमा बहुमत ल्याउन लागेमा सफल भइने उनले बताए ।
संविधान अनुसार एकल बहुमत ल्याउन कठिन भएका कारण गठबन्धन गर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘हाम्रो संविधान अनुसार एउटै दलले बहुमत ल्याउन कठिन छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । आवश्यकता पनि हो ।’
गठबन्धनमा अन्य दल जोडिएर कांग्रेसको सिद्धान्त र आदर्श मानेका कारण आफ्नो जित भएको उनले दाबी गरे ।














