Logo
Logo

‘भारतबाट विस्फोटक पदार्थ आपूर्ति नहुँदा द्रुतमार्ग निर्माण कार्यमा ढिलाइ’



काठमाडौं । नेपाली सेनाले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण भारतले विस्फोटक पदार्थ मागअनुसार उपलब्ध नगराउँदा काम प्रभावित भएको जनाएको छ ।

प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा नेपाली सेनाले भारतबाट विस्फोटक पदार्थ आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माण ढिलाइ भएको जनाएको हो । समतिको बैठकमा नेपाली सेनाका प्राविधिक महासेनानी भरतलाल श्रेष्ठले सो जानकारी गराएका हुन् ।

योजना तथा डिजाइन महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले भारतबाट माग भएअनुसार विस्फोटक पदार्थ आपूर्ति हुन नसकेको र चीनबाट पनि ढिलो मात्रै विस्फोटक पदार्थ आपूर्ति भएको स्पष्ट पारेका थिए ।

२०७९ बाट भारतबाट विस्फोटक पदार्थको आयातको सुरुवात भएको थियो । तर, ५ महिनाभित्र आयात गरिसक्ने लक्ष्य राखिएपनि २०८० पुससम्मसमेत आपूर्ति हुन नसकेको उनले बताए । नेपाली सेनाले २०७४ देखि द्रुतमार्ग निर्माण सुरु गरेको थियो ।

६ वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएकोमा हालसम्म २८.५६ प्रतिशत मात्र काम निर्माण कार्य सम्पन्न भएको सेनाले जनाएको छ । पछिल्लो समय आयोजनाको ३ वर्ष म्याद थपिएको छ । यससँगै २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने नयाँ लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्