
काठमाडौं । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्न ३१ जनासँग बयान लिएको छ । पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल लगायतका आरोपीहरूसँग आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन् ।
जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार अहिलेसम्म ६० किलो सुन तस्करीमा संलग्न आरोपीहरू र विद्युतीय चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीमा संलग्न ३१ जनासँग बयान लिइएको हो ।
मुद्दा पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । थुनामा रहेका २० जना नेपाली नागरिक, चिनियाँ नागरिक ९ जना र अदालतले तारेखमा रिहा गरेका २ जना सोधपुछ गरिएको हो ।














